श्री इन्भेष्टेमेन्टको २६ औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं – श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको छब्बिसौं वार्षिक साधारणसभा कम्पनीको रजिष्टर्ड कार्यालय, डिल्लीबजार काठमाडौंमा सम्पन्न भयो ।

सभामा आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कम्पनीका अध्यक्ष शशिराज पाण्डेले समिक्षा वर्षको अन्त्यमा कम्पनीले संकलन गरेको निक्षेप रु. ५ अर्ब २५ करोड र कर्जा सापट रु. ४ अर्ब ६७ करोड पुगेको तथा सम्पूर्ण कारोबार पछिको कम्पनीको खुद मुनाफा (बोनश तथा कर व्यवस्था पछि) रु. ११ करोड १९ लाख भएको जानकारी साधारणसभालाई गराएका थिए ।

साधारणसभामा अनुमोदनको लागी पेश गरिएको हाल कायम रहेको चुक्ता पूँजीको १०.५३ प्रतिशत लाभांश वितरणसम्बन्धि प्रस्तावलाई छब्बिसौं साधारणसभाबाट अनुमोदन गरियो । अनुमोदन पश्चात कम्पनीको जारी तथा चुक्ता पूँजी रु. ८९,०१,३४,८७९/५० पुगेकोे छ ।

प्रतिवेदन प्रस्तुत गर्ने क्रममा अध्यक्षले विषम परिस्थितीको बावजुद पनि कम्पनीको व्यवसायीक कारोवार बृद्धि हुनुमा आफ्ना ग्राहकसँगको निरन्तर सम्पर्क लगायत कर्जाको किस्ता तथा व्याज असुलितर्फ प्रभावकारी अनुगमन मुख्य रहेको बताए ।

कम्पनीले २०७७ आषाढ मसान्तसम्म आफ्ना १३ वटा कार्यालयहरुबाट नेपाल राष्ट्र बैंकको निर्देशन परिधि भित्र रहि व्यवसायीक कार्य गर्दै उक्त बैंकको निर्देशनहरु पूर्णरुपमा पालना गरिएको जानकारी समेत सभालाई गराएका थिए ।