प्रचण्ड भन्छन्– यो सेटिङ भन्ने शव्द सुन्नै चहान्नँ

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई महिनाभित्र यो देशलाई बर्बाद बनाउने खेल बन्द गर्नका लागि आन्दोलनमा उत्रिनका लागि आह्वान गरेका छन्।

बुधबार काठमाडौं जिल्ला कमिटीले गरेको प्रशिक्षण कार्यक्रममा बोलेका उनले प्रतिनिधि सभा विघटन गरी प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको बलात्कार गरेको भन्दै त्यसलाई रोक्नुपर्ने बताएका छन्।

प्रतिनिधि सभा पुनःस्थापना हुने बताउँदै उनले अदालत र निर्वाचन आयोगमा भरोसा रहेको बताए। तैपनि शंका रहेको उल्लेख गरेका उनले भने,‘बाहिर सुन्छु सेटिङ गरिएको छ, यो सेटिङ भन्ने शव्द म सुन्नै चहान्न, संविधानको हरण गर्ने विषयमा यस्तो हुनै सक्तैन।’

प्रतिनिधि सभा विघटनबारे संवैधानिक इजलाशमा सर्वोच्च अदालतले बहस चलाइरहेका बेला प्रचण्डको यस्तो बयानबाजी आएको हो। उनले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीलाई सोधे,‘के यो निर्णय भारतले भनेर गरेको हो?’ त्यसको पृष्ठभूमीमा केही महिनाअघि पार्टीका नेता मिलेर भारतले आफ्नो सत्ता गिराउन लागेको भन्ने ओलीको भनाई राखेका प्रचण्डले भने,‘भारतले गर्न लागेको भनेपछि हामीले सत्ता गिराउनका लागि दिएनौं, लौ त लौ भनेर।’