भोलिदेखि खुल्दै देशभरका नाटकघर तथा चलचित्र हलहरू

काठमाडौं – भोलि अर्थात माघ १ गतेबाट नेपालका अधिकांश नाटकघर तथा चलचित्र घरहरु खुल्ने भएका छन्। नाटकघरहरूको साझा संगठन थिएटर हबले विज्ञप्ती जारी गर्दै खबर पुष्टि गरेको हो ।

यस्तै नेपाल सरकारले चलचित्र उद्योगलाई विभिन्न शिर्षकमा आर्थिक सहयोग अनुदान उपलब्ध गराउने भएपछि चलचित्र क्षेत्र चलायमान हुने भएको छ ।

कोभिड(१९ महामारी र संक्रमण नियन्त्रणका लागि भएको लकडाउनको प्रभाव रङ्गमञ्चमा पनि परेको छ। उद्योग, व्यापार तथा व्यवसायसँगै कला र मनोरञ्जनको माध्यम रङ्गमञ्च तथा चलचित्र क्षेत्र शिथिल रह्यो। मनोरञ्जनकर्मीहरु आर्थिक र मानसिक रुपमा संकटमा परे। यस क्षेत्र ठप्प रहेको करिव १० महिनापछि उद्योग चलायमान हुने विश्वास गरिएको छ ।

नेपाल सरकारले स्वास्थ्य सावधानीको उपाय अपनाएर सबै गतिविधि तथा कामहरु गर्न अनुमति पनि दिएको छ । दर्शकहरुबीच भौतिक दुरी राखिने, मास्क अनिवार्य र स्यानिटाइजर उपलब्ध गराउने बताइएको छ।