सहज बनाइदैं सवारी चालक अनुमति पत्र (लाइसेन्स) ट्रायल

काठमाडौं – सवारी चालक अनुमति पत्रको मापदण्ड परिवर्तन हुने भएको छ।

यातायात व्यवस्था विभागले अहिलेको कडा मापदण्ड परिमार्जन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव पेश गरेको छ। यो प्रस्ताव अनुसार कुनै सानो गल्तीले ट्रायल फेल नहुने विभाग जनाएको छ ।

अहिले ट्रायल दिनेमध्ये २५ प्रतिशत मात्रै पास हुने विभागको आकलन छ । राम्रोसँग सवारीसाधन चलाउन जान्नेहरू पनि सामान्य गल्तीमा फेल हुँदा बिचौलियाकहाँ जाने समस्या बढेकाले अलि सहज बनाउन लागिएको जनाइएको छ ।

विभागका अनुसार नयाँ प्रस्तावमा ट्रायलका विभिन्न चरण अंकका आधारमा पास(फेल निधो गरिनेछ। ट्रायल सुरूवातकै ‘एट (8) मा छिरेदेखि ट्रायल पूरा गरेर ननिस्किउञ्जेलसम्म विभिन्न प्यारामिटरमा अंक बाँडिनेछ।

यो ट्रायलको पूर्णाक १०० हुने र ६० आउनेहरू पास हुने छन्। प्यारामिटर र त्यसका अंक कति राख्ने भन्नेबारे हाल छलफल चलिरहेको विभागले जनाएको छ। अहिले हेल्मेटको लक नलगाए पनि ट्रायल फेल हुने नियम छ। अब भने त्यसमा पनि निश्चित अंक पाउनेछन्। त्यस्तै ८ कटाएको निश्चित अंक हुनेछ। यस्तै–यस्तै विभिन्न प्यारामिटर हुने तयारी विभागको छ ।

त्यस्तै विभागले लिखित परीक्षाको ढाँचामा परिवर्तन गदै ५ सय वा एक हजार प्रश्नका सेट सुरूमै सार्वजनिक गर्ने र प्रश्न त्यहीँ भित्रबाट मात्रै सोधिने तयारी गरेको जनाएको छ ।

योसँगै विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन आवेदन फारम भर्न लागू गरिएको कोटा सिस्टम पनि हटाउन लागेको छ। यसको लागि सर्भर क्षमता बढाउने, लोड म्यानेजमेन्ट लगायतको काम भइरहेको विभागले जानकारी दिएको छ।