माघेसंक्रान्तिमा बढ्यो तरुलको कारोबार

काठमाडौं – माघे सङ्क्रान्तिका लागि बजारमा तरुलको कारोबार बढेको छ ।

माघे सङ्क्रान्तिका लागि तरुलको कारोबार बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । समितिका अनुसार यसपालि पोहोरको जस्तै मूल्यमा तरुलको कारोबार भइरहेको छ ।

समितिका अनुसार बजारमा अहिले दैनिक ६० देखि ७० मेट्रिक टन तरुलको भित्रिरहेको छ । थोक बजारमा अहिले पाल्पाको हात्ती पाइले तरुल किलोका ९० देखि एक सय रुपैयाँ, धरानको हात्ती पाइले तरुल ५० देखि ६० रुपैयाँ थोक मूल्य छ । यस्तै, वन तरुल किलोको १२० रुपैयाँ किलो, पाताले तरुल १ एक सयदेखि १४० रुपैयाँ, सर्लाहीको तरुल किलोको ६० देखि ७० रुपैयाँ, सिमल तरुल किलोको १२० रुपैयाँ थोक मूल्य रहेको छ । बजारको मागअनुसारकै तरुल भित्रिरहेकाले भाउ खासै नबढ्ने पनि समितिले जनाएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले खुद्रामा तरुललगायतका तरकारी खरिद गर्दा महँगो पर्न जाने भएकाले थोक बजारमा नै गएर तरकारी किन्न उपभोक्तालाई सुझाव दिएको छ ।