कोरोना खोप खरिदका लागि आर्थिक सहयोग गर्न सरकारको आह्‍वान

काठमाडौँ – कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप सम्पूर्ण नागरिकलाई नि: शुल्क दिने घोषणा गरेको सरकारले आर्थिक सहयोकोलागि आह्वान गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सार्वजनिक सूचना जारी गरी दातृ निकाय, विदेशी, विभिन्न व्यवसायीक एवं सामाजिक र परोपकारी संस्था एवं फिल्यान्थ्रोपिक एसोसियसनलाई खोप कोषमा योगदान गर्नका आह्वान गरेको हो ।

गोरखापत्रमा प्रकाशित सूचनामा मन्त्रिपरिषदको कात्तिक २४ गतेको निर्णय अनुसार नेपाल सरकारबाट आकस्मिक प्रयोगको लागि स्वीकृति प्राप्त भएको खोप खरिद गरी प्राथमिकताका आधारमा न्यायोचित वितरण प्रणालीमार्फत लक्षित समूहहरुलाई निस्शुल्क खोप उपलब्ध गराउन ठुलो रकम आवश्यक भएको उल्लेख छ ।

यसअघि सबैलाई निस्शुल्क खोप दिइने जानकारी दिँदै आएको स्वास्थ्य मन्त्रालयले सार्वजनिक सूचनामा भने ‘लक्षित सूमहहरुलाई निस्शुल्क खोप उपलब्ध गराउन’ भनेर स्पष्ट पारेको छ ।

सरकारले यसअघि पनि कोरोना संक्रमण भएको पत्ता लगाउन गरिने पीसीआर परीक्षण सबैलाई निस्शुल्क हुने बताए पनि केही समयपछि शुल्क निर्धारण गरेको थियो ।