प्रचण्ड–नेपाल समूहले महासचिव छान्न नसक्नुको भित्री कारण, सचिवालयमा त किचलै किचलो

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहले अध्यक्षबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गर्दै नेपाललाई अध्यक्ष तोक्यो। तर, ओली पक्षमा उभिएका सचिवालय सदस्यहरू ईश्वर पोखरेल, रामबहादुर थापा र महासचिव विष्णु पौडेललाई भने कारबाही गरेको छैन।

यद्यपि, उक्त समूहमा सचिवालयमा रहेका प्रचण्ड, नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठबाहेक एक महासचिव र चार सचिवालय सदस्य थप्नुपर्ने प्रस्ताव परेको छ। यी पदीय समस्याका कारण यस विषयमा खासै ठोस निर्णयमा नपुगेको उक्त समूहले अर्को समूहविरुद्धका सभा र सम्मेलनसहित प्रतिनिधि सभा विघटनको आन्दोलनलाई केन्द्रमा राखेको छ।

‘महासचिव को–को हुने? उपाध्यक्षमा कसलाई ल्याउने र सचिवालयमा कुन पुस्ताको सहभागीता गराउने भन्ने विवाद छ। नेताहरू रनभुल्लमा छन्’, उच्च स्रोतले भन्यो।

महासचिवका लागि नेपाल पक्षका मानिने भीम रावलको दाबी बलियो रहेको थियो। तर पूर्वमाओवादी खेमाबाट जनार्दन शर्मा, बर्षमान पुनको समेत दाबी रहेको छ। यसबाहेक तत्कालिन एमालेको उपमहासचिव रहेका घनश्याम भुसालको दाबी छ भने प्रचण्डसँग समेत राम्रो सम्बन्ध रहेका सुरेन्द्र पाण्डेले उक्त पद छाड्न नसकिने बताउँदै आएका थिए।

प्रचण्ड–नेपालले रावललाई म्यानेज गर्नका लागि उपाध्यक्ष पदमा लैजान सकिने सल्लाह त गरेका छन् तर पार्टी विभाजनपूर्व उपाध्यक्ष रहेका बामदेव गौतम आफैंतिर ढल्किए के गर्ने भन्ने समस्या रहेको बताइएको छ। यसबाहेक एकताकै बेलाको संगठनको संरचनामा जाने भएपछि सचिवालय पनि नौ सदस्य भन्दा बढी नबनाइने बताइएको छ।

तर रिक्त रहेका सचिवालय सदस्यमा कस–कसलाई ल्याउने भन्ने नै अर्को किचलो रहेको बताइन्छ। ‘क्रान्तिकारी छविका साथ अगाडि जाने भएपछि नयाँ पुस्ताको सहभागीतालाई पनि छलफल गरिएको छ, केही स्थायी समिति सदस्यले पनि सचिवालयमा दाबी गरेका छन्’, उच्च स्रोतले भन्यो।

प्रचण्डले सचिवालयमा उपाध्यक्ष, महासचिवसहितका अन्य सदस्यहरूमा नेपाल पक्षको भन्दा आफ्नो बहुमत हुनेगरी खाका तयार पारिरहेका छन्। स्थायी समितिदेखि केन्द्रीय समितिसम्म पूर्वमाओवादी हावी गराउने प्रचण्डको तयारी छ जसलाई नेपाल र खनालले मान्न सक्ने नदेखिएकाले संगठन संरचनामा समस्या भएको हो।

नेकपा औपचारिक रुपमा विभाजनको घोषणा भइसकेको छैन। विभाजनको निर्णय कसले गर्ने भनी प्रचण्ड र ओली समूहको ताक रहेको छ। निर्वाचन आयोगले ओलीको नेकपालाई आधिकारिकता दिए संगठन विस्तार नभई सडक संघर्षमा जाने प्रचण्डले घोषणा गरिसकेका छन्। ‘यो संगठन विस्तार गर्न नसकेको र आन्तरिक विवादलाई अल्मल्याउने अर्को तयारी हो’, उच्च स्रोतले भन्यो,‘प्रचण्ड हावी हुने कि नेपालको समूह भन्ने किचलो बाँकी नै छ।’