नेपालमा कोभिड-१९ को खोपको तेस्रो चरणको परीक्षणका लागि यस्तो छ तयारी

एथिकल अप्रूभल अर्थात् नैतिक स्वीकृति प्राप्त भएको तथा कानुनी रूपमा बाटो खुलेको अवस्थामा चाँडैमा अबको तीन हप्ताभित्र नेपालमा कोरोनाभाइरसविरुद्ध एउटा खोपको तेस्रो चरणको क्लिनिकल परीक्षण अघि बढाउन सकिने अवस्था रहेको सम्भावित परीक्षण कार्यक्रमको नेतृत्व गरिरहेकी एक चिकित्सकले बीबीसीलाई बताएकी छन्।

त्रिभुवन विश्वविद्यालयको चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) की डीन तथा शिक्षण अस्पतालमा गरिने परीक्षणको नेतृत्व गरिरहेकी प्रा. डा. दिव्यासिंह शाहका अनुसार तेस्रो चरणको परीक्षणका लागि आवश्यक प्रयोगशालासहित अन्य विभिन्न पूर्वाधार निर्माणको कार्य ‘लगभग सम्पन्न’ भइसकेको छ।

अस्ट्रेलियाली कम्पनी क्लोभर बायोफार्मसूटिकल्सले बेल्जियमको जीएसकेसँगको साझेदारीमा विकास गरेको खोपको पहिलो चरणको परीक्षण सम्पन्न भइसकेको, दोस्रो चरण सम्पन्न हुने क्रममा रहेको र तेस्रो चरणको परीक्षण भने नेपालमा पनि हुने उनले जानकारी दिइन्।

क्लोभर बायोफार्मसूटिकल्स एउटा चिनियाँ कम्पनीको भगिनी संस्था हो।

खोप

सामान्यतया हरेक खोपको पहिलो चरणको परीक्षणमा मानव शरीरमा “मलेकूल” सुरक्षित छ वा छैन हेरिने, दोस्रो परीक्षणमा यो कति मात्रामा प्रभावकारी हुन्छ भनेर हेरिने र तेस्रो चरणको परीक्षणमा भाइरसविरुद्ध प्रभावकारी हुन्छ कि हुँदैनदेखि यसको प्रयोगले मानव शरीरमा कुनै दुष्प्रभाव पार्छ कि पार्दैन भन्ने कुरा समेत हेरिने प्रा. शाहले बताइन्।

“यो खोपको तेस्रो चरणको क्लिनिकल परीक्षण १२ देशका ३४,००० मानिसमा गर्न लागिएको छ। त्यसमध्ये १,८०० जनामा परीक्षण नेपालमा गरिनेगरी तयारी अघि बढाइएको हो,” उनले भनिन्।

“सबै खालका स्वीकृति प्राप्त भएको खण्डमा ज्यानुअरी महिनाको अन्तिम वा फेब्रुअरीको पहिलो साता जस्तोमा यो परीक्षण सुरु गर्न लगभग सकिन्छ होला जस्तो लाग्छ।”

कुल १,८०० परीक्षणमध्ये १,२०० वटा शिक्षण अस्पतालले र बाँकी ६०० धुलिखेल अस्पतालले गर्ने तयारी रहेको बताइएको छ।

स्वास्थ्य अनुसन्धान परिषद्का प्रमुख अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालका अनुसार परिषद्ले कुनै पनि विषयको प्राविधिक र वैज्ञानिक पाटोबारे अध्ययन गरेर नैतिक स्वीकृति दिने गर्छ।

त्यसको आधारमा सम्बन्धित अनुसन्धानकर्ताहरूले स्वास्थ्य मन्त्रालय वा मन्त्रालयमार्फत् मन्त्रिपरिषद् स्वीकृति लिनुपर्ने आफ्नो बुझाइ रहेको धिमालले बीबीसीलाई बताए।

परिषद्ले दिने सबै खालका स्वीकृतिमा “नेपाल सरकारबाट स्वीकृति लिएर गर्नेगरी” भनेर पूर्वसर्त राखिने र त्यहाँबाट विषय छिनोफानो भएपछि मात्रै अन्तिम स्वीकृति हुने गरेको उनको भनाइ छ।

को सहभागी हुन पाउँछन्?

तेस्रो चरणको क्लिनिकल परीक्षणमा सहभागी हुनका लागि १८ वर्षभन्दा माथिका स्वस्थ मानिसहरूको माग गरिनेछ।

उनीहरूलाई स्वयंसेवकका रूपमा कार्यक्रममा सहभागी हुनका लागि आह्वान गरिनेछ।

परीक्षणमा सहभागी हुन चाहनेहरूको शरीरमा कुनै पनि किसिमको जटिल समस्या भएको भने हुनुहुँदैन।

“मधुमेह वा उच्च रक्तचापजस्ता समस्या भएको भए पनि शरीर स्थिर अवस्थामा रहेको हुनुपर्छ,” प्रा. शाहले भनिन्।

तर यो खोप दिइनुअघि उनीहरूको परीक्षण गरिनेछ। त्यस क्रममा उत्तीर्ण भएका स्वयंसेवकहरूले मात्रै सहभागिता जनाउन पाउनेछन्।

त्यस्तै कोरोनाभाइरसका सक्रिय सङ्क्रमितहरू पनि कार्यक्रममा सहभागी हुन पाउनेछैनन्।

“एक पटक लागेर निको भएकाहरूको हकमा भने समस्या हुँदैन,” उनले भनिन्।

कति मात्रा दिनुपर्छ?

प्रा. दिव्या सिंह शाहका अनुसार स्वयंसेवकलाई उक्त खोपको दुई मात्रा दिनुपर्ने हुन्छ।

यो खोप दक्षिण कोरियाली इन्टरन्याश्नल भ्याक्सीन इन्स्टिट्यूट (आईपीआई) उपलब्ध गराउनेछ। यसको खर्च पनि उसैले बेहोर्ने जनाइएको छ।

खोप लगाएपछि स्वयंसेवकहरू आफ्नै घर जान पाउनेछन्। उनीहरूले स्मार्टफोनमार्फत् आफ्नो अवस्थाबारे नियमित रूपमा जानकारी गराउने व्यवस्था मिलाउने बताइएको छ।

प्रत्येक दिन चिकित्सकहरूले निगरानी गरिरहने र उनीहरूलाई खोपका कारण वा अन्य कारण समस्या देखिए तत्काल हेरिने शाहले बताइन्।

सहभागीलाई कस्तो सुविधा?

विश्वमा जहाँ गरिए पनि खोपको परीक्षण अन्तर्राष्ट्रिय मान्यताअनुसार नै हुने र नेपालमा पनि त्यो लागु हुने विज्ञहरूको भनाइ छ।

“त्यो भनेको परीक्षणमा सहभागीहरूका लागि बीमासहित सबै व्यवस्था हुनेछ भन्ने हो,” प्रा. शाहले भनिन्।

“तर के कति रकम बराबरको बीमा होला अहिले नै म भन्न सक्दिनँ। परीक्षणको अवधिभरि नै उनीहरूको स्वास्थ्य अवस्था परीक्षण गरिनेछ र कुनै किसिमको समस्या उत्पन्न भयो भने बल्ल बीमाको कुरा आउने हो। त्यो अन्तर्राष्ट्रिय मान्यताअनुसार नै हुन्छ,” उनले भनिन्।

स्वयंसेवकका रूपमा परीक्षणमा सहभागी हुन चाहनेहरूलाई लिइने हुँदा यसमा सहभागी हुनेहरूलाई रकम भने नदिइने बताइएको छ।

“तर यातायात र यसैका लागि आफ्नो नियमित काम गर्न नपाएको क्षतिपूर्ति भने दिइन्छ होला,” उनले भनिन्।

अठार सय जनामा खोप परीक्षण गर्ने कार्य आफैँमा कतिको चुनौतीपूर्ण छ भन्ने कुरा अहिले नै भन्न सकिने अवस्था नरहेको उनको भनाइ छ।

“हामीले कसैलाई पनि खोप परीक्षणमा सहभागी हुन बाध्य पार्न मिल्दैन। हामीले लगाएका हरेक खोप शतप्रतिशत सुरक्षित छैनन्। तपाईँ हामीले नै बीसीजीदेखि इन्सेफ्लाइटिस ‍विरुद्ध खोप लगाएका छौँ। कुनै पनि औषधि जोखिममुक्त हुँदैन,” उनले भनिन्।

“हामीले फाइदा र जोखिमको तुलना गरेर लिने नलिने निर्क्योल गर्ने हो। हामीले यो खोप लिँदाका जोखिमबारे समेत खुलाएर सहभागिताका लागि आह्वान गर्नेछौँ।”

अनुसन्धानको नियमन आफूहरूले पनि गर्ने परिषद्को भनाइ छ।

सुरक्षाको पाटो हेरिने हुँदा नेपालमा पहिलो र दोस्रो चरणको परीक्षण आफूहरूले गर्न नदिने गरेको धिमाल बताउँछन्।

“तर तेस्रो चरणको परीक्षण भनेको सुरक्षित छ भन्ने प्रमाणित भइसकेको हुन्छ। प्रभावकारिता हेर्ने हो यो चरणमा। तथापि केही भइहाल्यो भने पनि उनीहरूलाई क्षतिपूर्तिको प्रत्याभूति वा बीमा नगरेसम्म हामी अघि बढाउन दिँदैनौँ।”

  • संजीव गिरी/बीबीसी न्यूज