नमोबुद्ध: एक ऐतिहासिक पर्यटकीय गन्तव्य

काठमाडौंबाट नजिक रहेको क्षेत्र, सामान्यतया आम काठमाडौं, भक्तपुर र ललितपुरबासीको एकदिने भुल ¬भुलैयाको निमित्त आकर्षणको केन्द्र बन्दै गएको महत्वपूर्ण ऐतिहासिक धरोहर नमोबुद्धको बारेमा सायद कमैलाई थाहा नहोला । नमोबुद्ध नामबाट नै स्पष्ट छ कि यो बौद्ध धर्मप्रति आस्था राख्ने र सोही परिबेशसँग सम्मिलित क्षेत्र हो । यहाँको पौराणिक इतिहास शान्तिका अग्रदुत भगवान गौतम बुद्धसँग जोडिएकाले यहाँ उनकै मार्गदर्शनलाई पछ्याउँदै हरेक धर्म संस्कृति र परम्पराको स्वागत र सम्मान गरिन्छ ।

काठमाडौंबाट लगभग ४० किलोमिटरको दुरीमा रहेको नमोबुद्ध काभ्रे जिल्लाको धुलिखेल नजिकै पर्दछ । काठमाडौं कोटेश्वरबाट अरनिको राजमार्ग २५ किलोमिटर अघि बढेपछि धुलिखेल चोक पुगिन्छ । धुलिखेल चोकबाट अरनिको राजमार्ग छोडेर विपि राजमार्ग हुँदै पूर्व ९ किलोमिटर अघि काभ्रे भञ्ज्याङ पुगेपछि त्यहाँबाट दक्षिण पूर्व ६ किलोमिटर कटिसक्दा नमोबुद्ध पुगिन्छ । राज्यको पुर्नसंरचना अघि श्यामपाटी गाविस वडा नं २ मा पर्ने नमोबुद्ध हाल राज्यको पुर्नसंरचना पश्चात आफ्नै नामबाट नामांकित नगरपालीका नमोबुद्ध नगरपालीका अन्र्तगत वडा नं. १ मा पर्दछ ।

प्राकृतिक उपवनको मध्यभागमा हरियाली एउटा थुम्कोको रुपमा अवस्थित यस क्षेत्रको विशेष प्रकारको मूल्यमान्यता रहेको छ । प्राकृतिक शिलाले बनेका चैत्य, गुम्बा र त्यहाँ भरिएका अलौकिक कलात्मक बुट्टाहरुलाई अवलोकन गर्दै त्यहाँ जोडिएका भगवान बुद्धसँगका किम्बदन्तीहरुलाई मनन् गर्न अतियोग्य बिशेष यस तपोस्थलमा विगतका केहि बर्ष यता आन्तरिक र बाह्य पर्यटकहरुको घुइँचो लाग्ने गरेको छ । प्राकृतिक सौन्दर्यतामा फूरुङ्ग उड्न रुचाउनेहरुलाई थुम्कामा बनेका बिभिन्न कलात्मक चैत्य, गुम्बा, गुम्बाभित्रका मनमोहक बुद्धका मुर्तिहरु अनि समग्र थुम्कोको प्राकृतिक सौन्दर्य रचनासहित त्यहाँबाट देखिने नाङ्लै गुड्ने जस्ता जंगल, जंगलको पाउमा फिँजारिएर सुतेको सम्म परेको फाँट र महाभारत लेकले मन उडाउँछ भने धार्मिक आस्थाले ओतप्रोत भएका मनहरुलाई शान्ति र शालीनताको खातिर बिशेष भगवान बुद्धको सम्झनामा दीपप्रज्वलन, पुजापाठ र जपतपले ध्यानाकर्षण गराउँदछ । शान्तिको क्षेत्र भएकाले त्यहाँ जाने आस्तिकहरुले आफ्नो पितृको सम्झनामा प्यालामा बत्ति बाल्ने अनि लुगाहरु, ध्वजा पताकाहरु र पितृका फोटाहरु त्यहाँको नियमअनुसार चढाउन सक्दछन् जसबाट पितृको मनोशान्ति र उद्धार हुने किम्बदन्ती पनि रहेको छ ।

नमोबुद्ध जुन बौद्धनाथ र स्वयम्भूनाथ जस्तै एक प्रख्यात स्तूप हो । जस्लाई तिब्बती बौद्ध धर्मावलम्बीहरुले मान्ने चैत्य मध्यको एक प्रसिद्ध चैत्यको रुपमा पनि चिन्न सकिन्छ । असंख्य कल्प पहिले जम्बू क्षेत्रमा महारथ र सत्यवती नामका राजारानी बस्दथे । पाँच हजारभन्दा बढी राज्यमा आधिपत्य जमाउन सफल पराक्रमी राजाका तीनजना छोराहरु थिए । तीनवटा मध्यका कान्छा महासत्व मैत्री, करुणा र परोपकारका विख्यात थिए । एकदिन राजारानी र तीनवटै छोराहरु वन बिहारका लागी निस्किए । घुम्दै गर्दा कान्छा राजकुमार महासत्व ८८ हजार ऋषिले तपस्या गरेको गन्धमादन पर्वतको घना चारकोसे जंगलमा पुगे । त्यहाँ उनले कैयौँ दिनदेखि खान नपाएर भोक र प्यासले कक्रिएकी एउटी बघिनीसहित उसका पाँचवटा डमरुलाई देखे ।

भोकले ग्रसित बघिनीले आफ्नै डमरुहरुलाई नै खाउँ झैँ गरेको पाएपछि राजकुमारले बघिनीका लागि बनमा आहारा खोजे तर केही पाउन सकेनन् । अन्त्यमा आफ्ना दाजुहरुसँग बुझ्दा बघिनीले आलो तातो रगत र मासु खाने कुरा बुझे । उनी दाजुहरुको आँखा छलेर बघिनीको नगिच पुगे अनि आफ्ना बस्त्र खोलेर बसे तर अत्यन्तै कमजोर भएकी बघिनीले उनलाई खान सकिन । बघिनीको त्यो दुर्दशा देखेर उनले आफैँ आफ्नो औँला काटेर आलो रगत बघिनीलाई चुसाए । केहि शक्ति प्राप्त गरेपछि बघिनीले उनलाई खाइन् । यो सबै देखेर इन्द्रासन डग्मगायो, पृथ्वी काँप्यो, पुष्पवृष्टि भयो, दुन्दुभि बजे र अप्सराहरु पनि नाचे ।

महासत्वका दाजुहरु उनलाई खोज्दै आइपुग्दा उनको हाडखोर मात्र बाँकी भेटे र दरबार फर्किसकेका राजारानीलाई खबर गरे । खबर सुनेर रानी मुक्र्षित भइन् । राजाले महासत्वको कंकाललाई श्रीखण्डजडित बाकसमा हालेर गाडे र त्यसमाथि चैत्य बनाएर पुजा गरे । पुजा गर्दै गर्दा कान्छा राजकुमार सम्यक सम्बुद्ध भएको आकाशवाणी भयो । चैत्यमा बुद्धरश्मी पैदा भई राजारानीलाई अघिललो जन्ममा उनीहरुका कान्छा छोरा नै भगवान बुद्धको नामले शान्तिका अग्रदुतको प्रतीकको रुपमा जन्म लिने कुरा बताए । हामीले मान्दै आएका भगवान बुद्ध उहि कान्छा राजकुमार महासत्वको अर्को जन्म हो भन्ने बुद्धरश्मीबाट प्रमाणित भएको जनश्रुती रहेको छ ।

हालसालै फैलिएको कोरोना माहामारीका कारण सरकारले गत बर्ष चैत्र देखि गरेको बन्दाबन्दी संगै नमोबुद्धको मुख्य आर्कषणको केन्द« ठूलो गुम्बा पनि बन्द रहेको छ । गुम्बा परिसरमा लगभग ४०० भन्दा बढी लामाहरु आवासीय रुपमा बसेर अध्ययन गरीरहेकाले स्वास्थ्य सुरक्षाका लागी बन्द रहेतापनि कोरोनाको महामारीलाई पनि बेवास्ता गर्दै बढ्दो आन्तरिक पर्यटकहरुको चापलाई मध्यनजर गरेर सावधानीपूर्वक गुम्बा खुल्ला गर्ने तयारी रहेको कुरा नमोबुद्ध घ्याङ गुठी व्यबस्थापन समितिका अध्यक्ष ऋतुबज्र लामाले जानकारी दिनुभयो ।

बिगतका दिनमा कच्ची सडक र उपर्युक्त पार्किङ समस्याको धेरथोर प्रभाव परेको पर्यटकीय क्षेत्र हालसालै बनेको पक्कि सडक र उचित पार्किङ व्यबस्थापनले सुनमा सुगन्ध थपिएको कुरामा कुनै दुईमत नभएको बढ्दै गएको पर्यटकीय चापले झल्काउँछ । नमोबुद्ध परिसर सुन्तलाको लागि पनि सु­प्रसिद्ध रहेकोले यो जाडो याममा नमोबुद्धको थुम्कोबाट उत्तरतिर खुलेर हाँसिरहेका हिमालय श्रृंखलाको दृश्यावलोकन गर्दै अर्गानिक सुन्तलाको मज्जा लिन सकिन्छ ।

केहि समय यता चर्चै­चर्चाले चुलिएको बाहुबली झरना अर्थात तिनधारे झरना जाने सडक पनि सोहि नमोबुद्ध सडक नै रहेको छ । केहि समय यता नमोबुद्धदेखि लगभग ५ किलोमिटर उत्ता तल्लो हटियासम्म सडक कालोपत्रे भएकाले तीनधारे जान बिगतको तुलनामा निकै सहज भएको तर झरनासम्म पुग्न अझै केहि सडक कच्ची भएकाले सडक व्यबस्थापनको काम अत्यावश्यक रहेको कुरा पर्यटकहरु बताउँछन् । राजधानीबाट एकदिनमै नमोबुद्ध हुँदै बाहुबली झरनाको प्राकृतिक मनोरम स्वाद चाखेर बेलुका फर्कन गर्न सकिने कुरा यसबाट प्रस्ट हुन जान्छ ।

बढ्दै गएको चिसोका कारण झरनामा जाने पर्यटकको मात्रामा केहि कमी देखिएपनि चिसो याम नयाँ स्थान घुमफिरको लागी उपर्युक्त भएकाले बिगतको झैँ स्कुल, कलेजको पिकनिक कार्यक्रममा बृद्धि हुन नसकेपनि नमोबुद्धमा दैनिक घुमफिरका लागि पर्यटकहरु बढ्दै गएको कुरा स्थानीय पर्यटन व्यबसायी कुलुङ लामाले बताउनुभयो । नमोबुद्ध आन्तरिक मात्र नभई बाह्य पर्यटकहरुका लागी पनि उत्तिकै महत्वपूर्ण रहेकाले सबैलाई मध्यनजर गरी बिभिन्न रिसोट, लज, होटलहरुको संख्यामा समेत बृद्दि हुँदै गएको कुरा पनि उहाँ बताउनुहुन्छ । साथै बिशेष सेवा सहित रमाउन चाहने पर्यटकलाई मध्यनजर गरी नमोबुद्ध नगिचै फूलबारी भन्ने ठाउँमा पाँचतारे होटल समेत बन्दै गरेको र होटल निर्माणको काम आधाजति सकिएको कुरा पनि उहाँले जानकारी गराउनुभयो ।