जुमान्जीका लागि ५५५ करोड पारिश्रमिक माग

लसएन्जल्स(एजेन्सी)– हलिउड फिल्म ‘जुमान्जी’ सिरिज हलिउडकै सबैभन्दा ठूलो मनी मेकिङ फ्रेन्चाइजीमध्ये एक हो । ड्वेन जोनसनको ‘जुमान्जी वेलकम टू द जंगल’ र ‘जुमान्जीः द नेक्स्ट लेवल’ले बक्स अफिसमा राम्रो प्रदर्शन गरेको थियो । अब ‘जुमान्जी’ सिरिजका फ्यानका लागि यसको चौथो भाग पनि प्रतिक्षाको विषय बनेको छ । फिल्मका निर्माताहरु यसको निर्माणको तयारीमा जुटेका छन् ।

समाचार अनुसार ड्वेन ‘जुमान्जी ४’मा एकपटक पुनः डा. स्मलडर ब्रेवस्टोनको भूमिकामा देखिँदैछन् । यसका लागि उनले निकै महंगो पारिश्रमिकको माग गरेका छन् । ड्वेनले यति धेरै पारिश्रमिकको माग गरेका छन् कि त्यो पारिश्रमिक ‘एभेन्जर्सः एन्डगेम’का लागि रोबर्ट डाउनी जूनियरका लागि दिइएको पारिश्रमिक भन्दा पनि बढी हो । ‘एभेन्जर्सः एन्डगेम’का लागि रोबर्टले ५५० करोड भन्दा बढी पारिश्रमिक लिएका थिए । यो हिसाबले ड्वेनले फिल्मका लागि ५५५ करोड पारिश्रमिक माग गरेका छन् ।

फिल्म ‘एभेन्जर्सः एन्डगेम’ले एक बिलियन डलरभन्दा बढी कमाएको थियो । जुन कमाई ‘जुमान्जी वेलकम टू द जंगल’ र ‘जुमान्जीः द नेक्स्ट लेवल’ दुवैको कमाई भन्दा बढी हो । ड्वेनले ‘जुमान्जी’को पछिल्लो दुई भागमा कुल मिलाएर २३ दशमलब ५ मिलियन पारिश्रमिक लिएका थिए । यो हिसाबले उनले जति माग गरेका छन्, त्यो पाउने सम्भावना न्युन नै छ ।