नेपाल प्रहरीका आईजी थापा क्षत्रीको ‘मधुमास’

यसलाई साझेदारी गर्नुहोस्

‘बिहे मधुमासको अँध्यारो पाटो’ भनिन्छ । यो भनाईका दुई तीनथरी अर्थ लगाउन सकिन्छ । व्याख्या लामो हुन जान्छ । यो शव्दको उपयोगीता आलेखमा भएकाले ग्रिप गरिएको हो ।

झन्डै दशकअघि एउटा अखबारको समाचार सम्पादकका रुपमा काम गर्दा प्रधान सम्पादक युगनाथ शर्मा पौडेलले भनेका थिए– बिनोद! तिमीले जब कामको अनुबन्धन वा जिम्मेवारी लियौ, तिमीले कामसँग बिहे गरिसक्यौ ।

मैले प्रतिप्रश्न गरेको थिएँ– कसरी दाई ?

उनको जवाफ थियो– जीवनमा बिहे नगरेका महिलाले कुनै कार्यालयमा जागिर खान्छिन् भने उनलाई ‘म्याडम’ भन्नुपर्छ । यसको अर्थ उनले कामसँग बिहे गरिन् ।

बिहेसँग अनिवार्य जोडिने चिज हो, मधुमास । काम वा जिम्मेवारी बिहे हो भन्ने विषयमा ‘कन्भिन्स’ हुने अर्को परम्पराचाहिँ ‘हनिमुन पेरियड’ भन्ने तर्कले पनि बल दिन्छ । यसकारण यलाई गणितको कुनै अभ्यासमा ‘मानौं’ भनेजसरी नै लिँदै विषयबस्तुलाई विस्तारित गरौं ।

शीर्षकले स्पष्ट पारेको छ– नेपाल प्रहरीका महानिरिक्षक (आईजी) शैलेश थापा क्षत्रीले जिम्मेवारी लिएको समयले ९० वटा दिन टेकेको छ । खासगरी जिम्मेवारी लिएको तीन महिनालाई नेपालमा ‘मधुमास’को समय भन्ने गरिँदै आएकाले यो प्रसङ्लाई जोडेको छु ।

नेपाल प्रहरीका आईजी शैलेश थापा क्षत्री

विवादरहित र मन्थनबिनाको उनले पाएको जिम्मेवारीमा कुनै पनि प्रकारका टिप्पणी र गलत परिचर्चा भएनन् । कुनै बितण्डा र समाचारीय विषय बन्ने खालका हर्कत भएनन् न बाहिर न संगठनभित्र । संगठनमा उनको स्वभाविक नियुक्तिले एउटा सरकारी प्रक्रियाको ढाँचा लियो, प्रहरी आफ्नै लयमा छँदै थियो । यद्यपि, राजनीतिक हस्तक्षेपको ठूलो भवितव्य भइरहने संगठनमा अस्वभाविक केही होला कि भन्ने पनि चर्चा थियो । आईजी थापा क्षत्रीको नियुक्ति हुनासाथ सबै आशंका र उत्सुकताले अवतरण पाए तर त्यहिँबाट सुरु भएको थियो उनको मधुमासको समिक्षाको घडी, बाँकी उनको कार्यकाल कस्तो रहला भन्ने चियोचर्चो र चासो ।

धार्मिक रुपमा रहेको ‘मलमास’को अन्त्यमा आईजी थापाको कार्यकालको ‘मधुमास’को समिक्षा अस्वभाविक होइन । तर, अस्वभाविचाहिँ विश्वभर घातक बनेको कोरोना भाइरस (कोभिड–१९)को महामारीको प्रभाव । यो प्रभावमा नै उनको कार्यकाल पनि चलिरहेको छ ।

जस्तो शैली त्यस्तै काम भनेजस्तो अड्किएर रहेका केही सैद्धान्तिक, खासगरी प्रहरीको आगामी संरचनाका कतिपय विषयमा उनले निर्णय लिने अवसर पाए । प्रक्रियामा रहेको यो चिजलाई फत्ते गराए भन्दा स्वभाविक हुन्छ । खाली रहेका दुई प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) पदमा सहकर्मी नै रहेका सिनियर डिआईजीद्वय निरज शाही र प्रद्युम्न कार्कीलाई बढुवा गराउने निर्णयमा पुगे ।

आईजी क्षत्रीले सचिवालयका कतिपय अधिकार अन्य अतिरिक्त महानिरिक्षकका जिम्मेवारीमा कसिदिए । उनले नियुक्ति भएका दिन ‘म सामुहिक नेतृत्व’ अबलम्बन गर्छु भनेर गृह मन्त्रालयमा भनेअनुसारको निर्णय हुनसक्छ भन्ने टिप्पणीकारको ठहर हो ।

तर, यसलाई दुई हिसाबले समालोचना गर्न सकिन्छ । प्रहरी संगठन पनि भएका कारण हुनुपर्छ भन्ने मेरो स्वतन्त्र मत हो ।

पहिलो, आईजी समानान्तर अधिकार र कल्याणकारी भावनाबाट प्रेरित छन् । उनी सहकर्मीलाई पनि संगठनभित्रका समान अधिकारका साथ अगाडि बढाउन चहान्छन् ।

दोस्रो, संगठन प्रमुखको हिसाबले सबै विषयको जिम्मेवारी र जवाफदेहिता आफूमा नीहित हुन्छ । विवादमा नआउनका निम्ति जवाफदेहितालाई पनि समानान्तर रुपमा बाँड्ने अभ्यासमा जुटे ।

अहम् मौकामा उठ्ने प्रश्नहरू आईजी थापाले गरेका काम र संगठनात्मक जिम्मेवारी बाँडफाँटमा केन्द्रित हुँदैन । प्रश्नहरू आईजी केन्द्रित हुन्छन् र उत्तरहरू आईजी स्वयम्ले दिनुपर्छ । यहि, फौजी संगठनको विश्वव्यापी मान्यता र अभ्यास रहँदै आएको छ ।

यसै पनि राजनीतिक हस्तक्षेपले थिलथिलो बनेको प्रहरीभित्र ‘ठूलो स्वतन्त्रता’को खोजी गर्ने प्रचलन छ । संगठनका आफूभन्दा जिम्मेवार अधिकारीको आदेश नमान्नका लागि बाह्य (राजनीतिक, प्रशासनिक या कुनै) सिफारिस गराउने प्रचलन छ । यो प्रभावशाली व्यवाहार हावी भइरहेका बेला ‘चेन अफ कमान्ड’ भन्दा पनि कल्याणकारी र अति लोकतान्त्रिक पद्दतीलाई पछ्याउनुले संगठनले कस्तो लय समात्ला भन्ने प्रश्न स्वभाविक हुन्छ ।

आईजी थापा क्षत्री प्रहरीलाई मृदुभाषी, गौव्यवाहार भएको सहनशील र आदर्शका रुपमा स्थापित गर्न चहान्छन् होला सायद, तर यो लय भोलीका दिनसम्म पनि जारी रहला ? वा आउनेले पनि यहि लयको गति दिन सक्ला भन्ने अन्वेषण भएको छ ? वा हिजोदेखि नै स्थापित भएको कमान्डिङ शैलीलाई व्यापक सुधारमा लग्नुपर्ने थियो ? वा त्यो लयमा हिँड्नुपर्ने थियो होला ? यो बाहिरबाट देखिने चित्रअनुसारको स्वभाविक प्रश्न बन्छ । चर्चा पनि हुन्छ ।

आजका दिनमा पनि प्रहरी संगठनमा प्रधानमन्त्री कार्यालय, मुख्य नेताको सचिवालय, मन्त्रीहरू, पार्टीका नेता, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, अदालत, पत्रकारलगायत अनेकको अतिरिक्त प्रभावले थोरैधेरै दबाब वा काम गरेकै छ । यी तीन महिनामा कतिपय सरुवा र बढुवा भएका छन् । यी काममा उल्लिखत क्षेत्रको प्रभावलाई ५० प्रतिशतमात्रै पनि कम गर्न आईजी सफल भए या भएनन् यो मधुमासमा ? यो प्रश्नको उत्तर व्यवाहारिक रुपमा खोजिनुपर्छ ।  

यदि छैन भने, यो निरन्तरताको क्रमभंगता गरी संगठनलाई चलायमान बन्ने वातावरणमा अघि बढ्नु नै गतिशील प्रहरी संगठन हुन्छ । त्यस्तो संगठन निर्माणका लागि आईजी थापा क्षत्रीको आफ्नो व्यक्तिगत जीवन चक्र र कर्तव्यले सम्भव हुन्छ । तर उनको ‘स्वभाव’ त्यसको सारथी बन्ने लयमा देखिँदैन । सैद्धान्तिक, मृदुभाषी र लोकतान्त्रिक प्रणालीको आयाममा हुर्किएको एउटा सफल अधिकारीले संगठनात्मक संरचनाको कमान्डलाई चलाउन कठोर पनि बन्नुपर्छ । कोमलतामा कठोरता कहाँ भेटिन्छ र ? एक हिसाबले त यो राजनीतिक र सामाजिक संरचना नै हिलोजस्तो रहेको र त्यसका अनेक कुप्रभावले प्रहरी संगठन पनि गाँजिएको बेला आईजी थापा क्षत्री ‘कमलको फूल’ जस्ता मात्रै देखिए कि, देखिएलान् कि ? भन्ने संश्लेषण हो ।

हुनसक्छ उनी कठोर पनि होलान् । तर प्रहरी प्रधान कार्यालय बाहिरको सेरोफेरो र वातावरणले उनलाई त्यो प्रारुपमा देख्न कहाँ पाएको छ र ? यो मधुमासको समयमा पनि त्यस्तो ठूलो परिदृश्य देख्ने मौका उनले दिन सकेनन् या पाएनन् भन्ने घनचक्कर त छँदै छ ।

उनको कार्यकालको लामो समय अझै छ । परिस्थितिले कतिपय चिजलाई सोचअनुसार व्यवाहारमा बाँध्न कठिन पनि भएको होला । कतिपय योजनाको तर्जुमामा रहेका होलान् । सबै चिज आएको ९० दिनमा नै देखिँदैन भन्ने प्रतितर्क पनि आउन सक्छ । आगामी दिनमा आईजी थापा क्षत्रीको नेतृत्व प्रभावशाली र स्मरणयोग्य हुँदै जाने विश्वास गर्न सकिन्छ । तर, भनिन्छ नि– बिहानीले दिनको संकेत गर्छ । मधुमास भनेकै बिहानी हो र दिनको संकेतका विषयमा ज्यादै विचरण नगरौं अहिले । आईजी थापा क्षत्रीलाई यत्ति सुझाव छ– प्रहरी नमूना बनोस् । 


यसलाई साझेदारी गर्नुहोस्